नेप्सेमा परिसूचकमा वृद्धि, कारोबार रकम बढ्यो
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबारको कारोबारमा सकारात्मक प्रदर्शन देखाएको छ। साताको अन्तिम दिन नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ विन्दुमा पुगेको छ।
आजको बजारमा कुल ९ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो दिनको ७ अर्ब ५१ करोडको कारोबारभन्दा झण्डै डेढ अर्ब बढी हो।
बजारमा आज १९८ कम्पनीको मूल्य वृद्धि भएको छ भने ५० कम्पनीको मूल्य घटेको छ। २ कम्पनीको मूल्य स्थिर रहेको छ।
ट्रेडिङ सेक्टर बाहेक सबै समूहको सूचक बढेको छ। फाइनान्स क्षेत्रमा ५.१७ प्रतिशत र जीवन बीमा क्षेत्रमा ४.३५ प्रतिशत वृद्धि भएको छ।
आज ५ कम्पनीको सेयर १० प्रतिशतसम्मको सकारात्मक सर्किटमा पुगेको छ। अन्य दुई कम्पनीको मूल्य पनि सर्किट लेभलमै बढेको छ। सर्किट लागेका कम्पनीमा सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, सञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर, तेह्रथुम पावर, गुह्वेश्वरी मर्चेन्ट बैंकिङ र उन्नति सहकार्य लघुवित्त रहेका छन्।
सबैभन्दा धेरै मूल्य गिरावट खानीखोला हाइड्रोपावरको ४.७६ प्रतिशतले देखिएको छ।
कारोबारको आधारमा, हिमालयन बैंकको प्रोमोटर सेयरको १ अर्ब ६६ करोडको कारोबार भएको छ। त्यस्तै युनियन हाइड्रोपावरमा ३४ करोड र बुटवल पावर कम्पनीमा २५ करोड रुपैयाँको कारोबार भएको छ।