किस्ट बैंकका पूर्वसीईओ कमल ज्ञवाली थुनामुक्त हुने
काठमाडौं, १७ कात्तिक — तत्कालीन किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल ज्ञवाली सात वर्ष कैद सजाय पूरा गरी थुनामुक्त हुने भएका छन्। सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल र अब्दुलअजिज मुसलमानको इजलासले ज्ञवालीलाई कैदमुक्त गर्ने आदेश दिएको हो।
ज्ञवालीलाई बैंकिङ कसुरमा अदालतले जरिबाना नबुझाएको कारण जेल बसाइ लम्बिएको थियो। यसअघि उच्च अदालत पाटनले कमल ज्ञवालीसहित उनकी पत्नी गौरी खनाल र अन्य व्यक्तिहरूलाई कर्जा दुरुपयोगसम्बन्धी बैंकिङ कसुरमा कैद र जरिबाना सजाय सुनाएको थियो।
अनुसन्धान प्रतिवेदन अनुसार, सिद्धार्थ विकास बैंक र किस्ट बैंकमार्फत जम्को प्रकाशन प्रालिलाई २५ करोडभन्दा बढी रकम प्रवाह भएको थियो, जसमा जग्गा धितोमा राखिए पनि कर्जा दुरुपयोग भएको पुष्टि भएको थियो।