दार्मामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर, ५१ मा स्क्रब टाइफस पुष्टि
सल्यान, दार्मा - सल्यानको दार्मा गाउँपालिकाको आयोजना र सल्यान जेन- जी गाउँपालिकाको समन्वयमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा मगरको निर्देशन र प्राविधिक सहयोगमा सञ्चालित यस शिविरबाट दुई दिनको अवधिमा कुल ४१२ जना स्थानीय नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। यसमध्ये २५७ जना महिला र १५५ जना पुरुष सेवाग्राही थिए।
शिविर मिति २०८२ साल कार्तिक १५ र १६ गते गरी दुई फरक स्थानमा सञ्चालन गरिएको थियो। पहिलो दिन, कार्तिक १५ गते दार्मा गाउँपालिका वडा नं ३ थुम्केसल्लीमा वडा नं. १, २, ३, ४ र ६ का तल्लो भेगका जनतालाई लक्षित गरी सेवा दिइयो । यो दिन १४६ महिला र १०१ पुरुष गरी जम्मा २४७ जनाले सेवा लिएका थिए।
दोस्रो दिन, कार्तिक १६ गते ढाकाडाम स्वास्थ्य चौकी त्रिवेणी (दार्मा-०५) मा वडा नं. ५, ६ र २ का तल्लो भागका जनतालाई लक्षित गरी शिविर आयोजना गरिएको थियो, जहाँ १११ महिला र ५४ पुरुष गरी १६५ जनाले स्वास्थ्य सेवा प्राप्त गरे।
शिविरमा ज्वरोका बिरामीहरूको रक्त परीक्षण गर्दा संक्रमणको दर उच्च देखिएको छ। दुई दिनको परीक्षणमा ५१ जनामा स्क्रब टाइफस पोजिटिभ र २ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। पहिलो दिन परीक्षण गरिएकामध्ये २३ जना स्क्रब टाइफस पोजिटिभ र १ जना डेङ्गी संक्रमित फेला परेका थिए भने, दोस्रो दिन २८ जना स्क्रब टाइफस पोजिटिभ र १ जना डेङ्गी संक्रमित पुष्टि भएका थिए। यो नतिजाले यस क्षेत्रमा मौसमी संक्रमणको जोखिम बढेको देखाउँछ।
शिविरको सफल सञ्चालनमा जिल्ला स्वास्थ्य कार्यालय सल्यानका चिकित्सक टोली, विभिन्न स्वास्थ्य संस्थाका चिकित्सकहरू, स्वास्थ्य शाखा दार्मा तथा सबै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको सक्रिय योगदान रहेको थियो।
स्क्रबटाइसस संक्रमण दार्मामा महामारीकै रुपमा फैलिएको संकेत देखिएकाले तत्काल पालिकाका बाँकी सबै स्वास्थ्य संस्थामा चेकजाँच अभियान चलाउन स्वास्थ्य शाखालाई निर्देशन दिइसकेको अध्यक्ष निमबहादुर केसीले बताए ।
दार्मा गाउँपालिका र जेन- जी दार्मा समितिले शिविर सफल बनाउन सहयोग गर्ने जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय दार्मा लगायत सम्पूर्ण पक्षप्रति हार्दिक आभार व्यक्त गर्दै, कार्यक्रमको समापन गरेको छ।