ओलीले विद्या भण्डारीको सदस्यता नवीकरणबारे निर्णय टार्दै
१५ कात्तिक, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणबारे अझै छलफल गर्नुपर्ने बताएका छन्।
आज ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकमा नेताहरूले भण्डारीको सदस्यताबारे बहस उठाए। बैठक स्रोतका अनुसार ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले यस विषयमा कुरा उठाएका थिए।
असोज अन्तिम साता जावलामा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले सचिवालयबाट निर्णय हुने आश्वासन दिएका थिए। तर, आजको बैठकमा पनि उनले सदस्यताबारे कुनै निर्णय लिन तयार नभएको बताइएको छ। बैठकमा अष्टलक्ष्मी शाक्यले ‘धेरै कुरा उठ्यो, अब टुंग्याऔं’ भनेका थिए, तर ओलीले ‘कुराकानी गर्नुपर्छ, अहिले नगरौं’ भनी वार्ता टारेका थिए।
बैठकमा ठूलो संख्याका केन्द्रीय सदस्यहरूले विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय उल्ट्याउन दबाब दिएका थिए। ओलीले भने निर्णय टार्दै विद्या भण्डारीको विषयलाई महाधिवेशन स्थल परिवर्तन प्रस्तावसँग जोडेर अघि बढाएका छन्।