सेनाको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना ड्राफ्ट गरिँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेनाको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्ने प्रक्रिया सुरु गरिएको छ। सेनाको सहायक रथीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू सम्मिलित समिति गठन गरिएको छ। सो समितिले एकीकृत सुरक्षा योजनाको मस्यौदा तयार गर्नेछ।
नेपाली सेनाका प्रवक्ता (सहायक रथी) राजाराम बस्नेतका अनुसार, निर्वाचन सुरक्षा व्यवस्थापन कार्यविधि–२०७८ अनुसार सुरक्षा व्यवस्थापनसम्बन्धी काम सुरु गरिएको हो। उनले भने, “कार्यविधिअनुसार सुरक्षा व्यवस्थापनसम्बन्धी कार्य अघि बढाइएको छ।”
एकीकृत सुरक्षा योजनाको मस्यौदा तयार गर्न समिति गठन गर्ने निर्णय केन्द्रीय सुरक्षा समितिले गरेको थियो। सेनाका सहायक रथीको नेतृत्वमा बनेको सो समितिमा नेपाल प्रहरीका एसएसपी बसन्त रजौरे, सशस्त्र प्रहरी बलका कार्य विभागका एसएसपी राजेश उप्रेती र राष्ट्रिय अनुसन्धान विभागका एक प्रतिनिधि रहेका छन्।
समितिले एकीकृत सुरक्षा योजनाको सम्पूर्ण खाका तयार गरी केन्द्रीय सुरक्षा समितिमा पेश गर्नेछ। सो मस्यौदा केन्द्रीय सुरक्षा समितिबाट पारित भएपछि सोही योजनाअनुसार निर्वाचनका क्रममा सुरक्षाकर्मी परिचालित हुनेछन्।
निर्वाचनका क्रममा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल कुन–कुन तहमा (लेयरमा) परिचालित हुने, आपसी समन्वय कसरी हुने र कति जनशक्ति आवश्यक पर्छ भन्ने विषयमा समितिले विस्तृत खाका तयार गर्नेछ। साथै, मतदान केन्द्रहरूको संवेदनशीलता अनुसार सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था पनि सो समितिले तय गर्नेछ।