गुल्मीमा छोराले कुट्दा बुवाको मृत्यु, आमा गम्भीर घाइते
गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले कुटपिट गर्दा बुवाको मृत्यु भएको छ भने आमालाई गम्भीर चोट लागेको छ।
प्रहरीका अनुसार म्यालका २३ वर्षीय भोटबहादुर विकले आफ्नै बुवा करिब ५० वर्षीय धनबहादुर विक र आमा करिब ४८ वर्षीया दिलमाया विकमाथि हँसिया र काठको किला ठोक्ने मुङ्ग्रो प्रहार गरेका हुन्। सो क्रममा बुवा धनबहादुर विकको घटनास्थलमै मृत्यु भएको र आमाको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिएका छन्।
घाइते आमालाई प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल तम्घास हुँदै थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी अर्खवाङबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेर सुरक्षाको व्यवस्था मिलाएको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा अर्को टोली समेत खटाइएको गुल्मी प्रहरीले जनाएको छ।
प्रहरीले आरोपी छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ती युवकको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ भने घाइते आमाको अवस्था गम्भीर रहेको बताइएको छ।
धनबहादुरका छिमेकी तथा वडा सदस्य सूर्यबहादुर थापाका अनुसार उक्त घरमा ९० वर्षीया हजुरआमासमेत बस्दै आएकी छन्। धनबहादुर र दिलमायाका दुई छोरामध्ये भोटबहादुर जेठो हुन्। उनको भाइ घरमा थिएन।
थापाले भने, “भोटबहादुर मानसिक रूपमा बिरामी थिए, तर पछिल्ला चार दिनदेखि अझै बढी असामान्य बन्दै गएका थिए। शनिबारको घटनाले गाउँमा त्रास फैलिएको छ। बुवाआमालाई हानेर ढलेपछि उनी नजिकैको दिदीको घरमा पुगेर भान्जा र ससुरालाई मार्ने भन्दै पुगेका रहेछन्। भान्जालाई पनि हाने तर धेरै लागेन, ससुरा भने भागेर जोगिनुभयो।”
उनका अनुसार घटना पछि गाउँमा ठूलो त्रास छ। “म आफैं घाइते आमालाई बोकेर तम्घाससम्म लगेको हुँ,” उनले भने, “आज बुटवल अस्पतालमा टाउकोको उपचार हुँदैछ। आमाको अवस्था अहिले खतरामुक्त रहेको जानकारी पाएको छु।”