झापामा बेपत्ता सरोज शर्माको शव फेला, हत्या भएको आशंका
१५ कात्तिक, झापा । झापास्थित बिरिङ खोलाको पुलमुनि भेटिएको शव शिवसताक्षी–१० माईधारका ३३ वर्षीय सरोज शर्माको भएको पुष्टि भएको छ। उनी गत आइतबारदेखि आफ्नै कारसहित बेपत्ता रहेका थिए। शनिबार झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्गनजिक बिरिङ खोला पुलमुनि गाडिएको अवस्थामा उनको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शव भेटिएको स्थानमा प्रहरीले पुगेर मुचुल्का उठाउने कार्य पूरा गर्दै शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा सरोजको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ।
शर्मा बेपत्ता भएको तीन दिनपछि बुधबार चारआली जंगलभित्र उनको कार आगजनी गरिएको अवस्थामा भेटिएको थियो। झापाको मेचीनगर–१३ हातेमालो सामुदायिक वनभित्र फेला परेको उक्त कार र शव फेला परेको घटनाबीच सम्बन्ध रहेको अनुमान गर्दै प्रहरीले दुवै घटनाको विस्तृत छानबिन अघि बढाएको जनाएको छ।