रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ हुने भएको हो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको भनिएको आफ्नै भागको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। सो आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
यसअघि सहकारी ठगीको बिगो बमोजिमको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित दर्ता गरिएका निवेदनमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले दुवै मुद्दा एकैसाथ राख्ने आदेश दिएको थियो।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो एक भाग बराबरको बिगो रकम दाखिला गरेको कागजात पेस गरेका थिए।
लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको **लक्ष्मी सनराइज बैंक**को जमानतसमेत निवेदनसँगै पेस गरेका थिए। लामिछानेझैं जोशीले पनि सोही बराबरको बिगोबापतको जमानत पेश गरेका थिए। तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने स्पष्ट नभएकाले रिहा गर्न नमिल्ने आदेश गरिएको थियो।
हाल पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन्। भैरहवा कारागारमा रहेका लामिछानेलाई हाल ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी भने भैरहवा कारागारमै रहेका छन्।