रवि लामिछाने र छविलाल जोशीको मुद्दामा थप मिसिल झिकाउने आदेश
काठमाडौँ, २० कात्तिक – सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थप मिसिल झिकाउने आदेश दिएको छ।
न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले जोशीको मिसिल अपुग भएकाले झिकाएर दुवै मुद्दा साथै राख्न आदेश दिएको हो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरी थुनामुक्त हुन माग गरे पनि रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको थियो। त्यसपछि उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।
रविसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछाने र जोशी दुबैजना आफ्ना भागको बिगोवापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको जमानत पेस गरेका छन्।
हाल लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमै रहेका छन्।