विदेशमा रहेका नेपालीलाई मताधिकार दिने तयारी, अध्यादेश मस्यौदा अन्तिम चरणमा
१६ कात्तिक, काठमाडौं।
सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने उद्देश्यसहित अध्यादेश ल्याउने तयारी अघि बढाएको छ। त्यसका लागि आवश्यक कानुनी संशोधनको मस्यौदा गृह मन्त्रालयले तयार पारेर निर्वाचन आयोगमा पठाइसकेको छ।
गृह मन्त्रालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐन गरी चार वटा कानुन संशोधन गरिनेछ।
मन्त्रालयका कानुन महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालका अनुसार, “विदेशमा बस्ने नेपालीलाई समानुपातिकतर्फ मतदान गर्न दिने गरी प्राविधिक मस्यौदा तयार भइसकेको छ। आयोगबाट राय आएपछि थप प्रक्रिया अघि बढाइनेछ।”
निर्वाचन आयोगले मस्यौदामाथि राय तयार गर्ने प्रक्रिया सुरु गरिसकेको बताइएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेले पनि “छलफल भइरहेको र आयोगले छिट्टै राय पठाउने तयारी गरेको” जानकारी दिए।
यसअघि आइतबार गृह मन्त्रालय, नेपाल नीति अध्ययन प्रतिष्ठान, र आयोगका अधिकारीहरूबीच विदेशमा मतदान प्रणालीबारे विस्तृत छलफल भएको थियो। उक्त छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, सचिव रामेश्वर दंगाल, र प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. लेखनाथ शर्मा सहभागी थिए।
छलफलमा विदेशबाट मतदान गर्ने मोडेल, मतदाता नामावली संकलन, मतदान प्रक्रिया, सुरक्षा चुनौती, र आवश्यक कानुनी संयन्त्रबारे विमर्श गरिएको थियो।
गृह मन्त्रालयका अधिकारीहरूका अनुसार, कानुनी संशोधनपछि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलनदेखि मतदान केन्द्रको व्यवस्था र कार्यान्वयनसम्मका जिम्मेवारी निर्वाचन आयोगले बनाउने कार्यविधिअनुसार सञ्चालन गर्नेछ।