हुम्लामा ९ हजार बढी अवैध चिनियाँ मदिरा बरामद
हुम्ला प्रहरीले पछिल्लो समय अवैध चिनियाँ मदिरा नियन्त्रणमा तीव्रता दिएको छ। प्रहरीले शुक्रबार राति थप ४२० कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायव उपरीक्षक शंकर पोखरेलको कमान्डमा खटिएको १० जनाको प्रहरी टोलीले नाम्खा गाउँपालिका–३ लामा खोल्सीबाट लुकाई छिपाई राखिएको अवस्थामा उक्त मदिरा बरामद गरेको हो।
छिमेकी राष्ट्र चीनबाट लुकाई छिपाई नेपालमा प्रतिबन्धित चिनियाँ मदिरा भित्र्याइएको भन्ने सूचनाका आधारमा प्रहरीले यो कारबाही गरेको हो । प्रहरी नायव उपरीक्षक पोखरेलका अनुसार बरामद गरिएको मदिरा चीनको ताक्लाकोट हुँदै हिल्सा नाकाबाट नेपाल भित्रिएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।
यसअघि कात्तिक १९ गते पनि हुम्ला प्रहरीले ३५१ कार्टुन अवैध चिनियाँ मदिरा नियन्त्रणमा लिएको थियो। दुई पटकमा नियन्त्रणमा लिइएका कुल ७७१ कार्टुन मदिरामा ९ हजार ३७ बोतल रहेका छन्, जसको अनुमानित बजार मूल्य ३५ लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ।