पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार
१५ कात्तिक, काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। मिर्गौलामा सङ्क्रमण देखिएपछि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखी उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
आलम लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित छन् र नियमित रूपमा डायलाइसिस गराउँदै आएका थिए। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
रौतहतबाट प्रतिनिधिसभामा निर्वाचित भएका आलमले विगतमा वन तथा वातावरण मन्त्री र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अहिले उनको स्वास्थ्य अवस्था चिकित्सकहरूको निगरानीमा रहेको अस्पतालले जनाएको छ।