भारत निर्यातमै नेपाल विद्युत् प्राधिकरणलाई करोडौं घाटा
१६ कात्तिक, काठमाडौं।नेपाल विद्युत् प्राधिकरण (नेपाअ)ले भारतमा बिजुली निर्यात गर्दा दैनिक करिब ५ करोड रुपैयाँ घाटा व्यहोर्दै आएको पाइएको छ।
भारतको खुला बजार इन्डियन इनर्जी एक्सचेन्ज (IEX) मा हाल प्रतियुनिट बिजुलीको मूल्य झरेर नेपाली ४८ पैसा पुगेको छ। औसत दर हाल प्रतिमेगावाट आवर २७७५.८६ भारतीय रुपैयाँ (नेपाली करिब ४.४७ रुपैयाँ) रहेको छ।
तर, प्राधिकरणको बिजुली खरिद लागत, चुहावट र ह्विलिङ चार्ज जोड्दा प्रतियुनिट ६.४२ रुपैयाँ खर्च पर्न आउँछ। यस हिसाबले नेपाअलाई प्रत्येक युनिटमा करिब १.९५ रुपैयाँ घाटा भइरहेको छ।
अक्टोबर महिनाको औसत बिक्री दर IEX मा प्रतिमेगावाट आवर २८५९ भारु (नेपाली ४.५७ रुपैयाँ) रहेको थियो।
देशभित्रका ठूला उद्योगको आपूर्ति रोकिएर करिब ३ सय मेगावाट बिजुली निर्यात गर्दा मात्रै प्राधिकरणलाई दैनिक साढे ३ करोड रुपैयाँ नोक्सानी भएको अनुमान छ।