काठमाडौँमा हिंसात्मक अभिव्यक्तिका कारण डा. निकोलस भुसाल पक्राउ तयारीमा
काठमाडौँ – सामाजिक सञ्जालमा हिंसा भड्काउने अभिव्यक्तिहरू दिएका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ। भुसालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, तथा तत्कालीन काठमाडौँ प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने धम्की सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
भुसालको अभिव्यक्तिपछि भक्तपुरको गुण्डुस्थित ओली निवासमा सुरक्षा सतर्कता अपनाइएको छ। प्रहरीका अनुसार, भुसालको भड्काउपूर्ण पोस्टपछि तरुण दलका एक कार्यकर्ताले उनको समूहलाई प्रतिकारको चेतावनी दिएका छन्।
सोही क्रममा, नेकपा एमाले निकट युवा स्वयंसेवक बलले आइतबार गुण्डुमा भेला आयोजना गरिसकेको छ। उक्त बलले मोटरसाइकल र्याली समेत आयोजना गरेपछि भुसालमाथि खतरा बढेको प्रहरीको विश्लेषण छ।
प्रहरीले मुठभेड हुन नदिनका लागि भुसाललाई नियन्त्रणमा लिन खोजिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकारीहरूले जानकारी दिएका छन्। प्रहरी स्रोतका अनुसार भुसालले हाल सञ्चार सम्पर्क विच्छेद गरेर बसिरहेका छन्।
यसअघि, असोज २३ मा काठमाडौँको माइतीघरमा प्रदर्शन गर्ने क्रममा प्रहरीले भुसाललाई पक्राउ गरेको थियो। स्वास्थ्य परीक्षणमा गाँजा सेवन गरेको रिपोर्ट आएपछि, उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएका थिए।