पहिला देश अभियानले कार्तिक १६ मा माइतीघरमा प्रदर्शन गर्ने घोषणा
काठमाडौँ — ‘पहिला देश (पिपुल्स रेभुलेसन) अभियान’ ले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडिओलाई पक्राउ नगरेको विरोधमा कार्तिक १६ गते माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेको छ।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभियानले हालको सरकार जेनजी आन्दोलनका मागअनुसार काम नगरेको भन्दै अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत माग गरेको छ। अभियानका नेता डा. निकोलश भुसालका अनुसार जेनजी आन्दोलन मुख्यतया सुशासन, भ्रष्टाचारमुक्त समाज र कार्यकारी प्रमुखको लागि भएको थियो, तर वर्तमान सरकार उल्टो दिशामा गएको आरोप लगाइएको छ।
संयोजक एसपी शाहले भोलिको प्रदर्शनमा जेनजी, लघुवित्त, सहकारी, बैंकलगायत पीडित समूहहरूले संयुक्त रूपमा भाग लिने जानकारी दिएका छन्। लघुवित्त पीडित सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले भने, सरकार जेनजीको मर्मअनुसार देशलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा ध्यान दिइरहेको छैन।
जेन–जी रविकिरण हमालले आन्दोलन हाइज्याक भएको र शहीद तथा घाइतेहरू अपमानित भएको भन्दै सुशीला कार्की सरकारको विस्थापनको मागसमेत गरे।