दुर्गा प्रसाईंले सरकारसमक्ष २७ बुँदे माग पेस
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको *राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान*ले सरकारसमक्ष २७ बुँदे माग पेस गरेको छ । बुधबार गृह मन्त्रालयमा अभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा गएको टोलीले गृहमन्त्रीसमक्ष मागपत्र बुझाएको हो ।
मागपत्रमा *प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था पुनः स्थापना गर्नुपर्ने* प्रमुख मागका रूपमा उल्लेख गरिएको छ ।
त्यस्तै, हिन्दु राज्य पुनःस्थापनाका लागि जनमत सङ्ग्रह गर्नुपर्ने, नेपालमा नेपालीले मात्र व्यापार गर्न पाउने कानुनी व्यवस्था मिलाउनुपर्ने, निजामती, प्रहरी र सेनाको न्यूनतम तलब एक लाख रूपैयाँ तोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गर्नुपर्ने लगायतका मागहरू समावेश छन् ।
अभियानले खाडी मुलुकमा जेलमा परेका ७ हजार नेपाली कामदारलाई उद्धार गर्न र युवाहरूका लागि स्वदेशमै रोजगारीको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रसाईं नेतृत्वको अभियानले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।