नेपाल दिगो पर्यटनमा प्रतिबद्ध, वर्ल्ड टुरिज्म मार्केटमा सीईओ जोशीको प्रस्तुति
काठमाडौं, २१ कात्तिक – नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले दिगो र जिम्मेवार पर्यटन विकासमा नेपाल प्रतिबद्ध रहेको बताएका छन्।
बेलायतको लन्डनमा आयोजित ‘वर्ल्ड टुरिज्म मार्केट’ (डब्लूटीएम) २०२५ मा ‘सस्टेनेबल सिफ्ट: ट्रान्सफर्मिङ टुरिज्म थ्रु अ सर्कुलर इकोनोमी’ विषयक छलफलमा सीईओ जोशीले नेपालले पर्वतीय तथा ग्रामीण पर्यटनमा सामुदायिक सहभागिता, वातावरणीय संरक्षण र आर्थिक समावेशिता मार्फत दिगो पर्यटन प्रवर्द्धन गरिरहेको जानकारी दिएका थिए।
जोशीले भने, “नेपालले सतही हरित पहलभन्दा अघि बढ्दै वातावरणीय संरक्षण, स्थानीय सशक्तीकरण र व्यावसायिक दीगोपनबीच सन्तुलन कायम गर्ने प्रणालीगत परिवर्तनतर्फ ध्यान केन्द्रित गरेको छ।” छलफलमा सर्कुलर अर्थतन्त्रको अवधारणा अपनाउँदै स्रोतहरूको पुन: प्रयोग, फोहोर न्यूनीकरण, न्यून कार्बन यातायात र स्थानीय समुदायको समान सहभागिताको महत्वमा जोड दिइयो।
तरोभ टुरिज्म डेभलपमेन्टले सञ्चालन गरेको कार्यक्रममा विभिन्न देशका पर्यटन विशेषज्ञले विश्वभरिका नवीन अभ्यास र चुनौतीबारे विचारविमर्श गरेका थिए।