डा. तोसिमा कार्कीको माग: ‘जेनजी क्रान्ति’लाई तेस्रो जनआन्दोलनको मान्यता दिइयोस्
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले हालै भएको ‘जेनजी क्रान्ति’लाई नेपालले तेस्रो जनआन्दोलनको रूपमा वैधानिकता दिनुपर्ने धारणा व्यक्त गरेकी छन्। उनले भदौ २३ गतेको शान्तिपूर्ण विद्रोहले देखाएको सुसंस्कृत राजनीति र सुशासनको आवश्यकतालाई संस्थागत गर्न आवश्यक रहेकोमा जोड दिएकी छन्।
उनी भदौ २४ गते सडकमा भएको हिंसा, आगजनी र तोडफोडका घटनामा जेनजी पुस्तालाई दोषारोपण गर्न नहुने बताउँछिन्। डा. कार्कीले सरकारले देखाएको ‘आपराधिक चरित्र’ अक्षम्य रहेको भन्दै तत्काल अनुसन्धान, कानुन र कारबाहीको दायरामा ल्याउन माग गरेकी छन्। साथै आन्दोलनका क्रममा घाइते भएका र सहिद परिवारको सम्मान र संरक्षण राज्यले गर्नुपर्ने उनको भनाइ छ।