प्रधानमन्त्री कार्कीको आग्रह : ‘जेनजीहरू दल बनाएर जनताबाट अनुमोदित होऊ’
१६ कात्तिक, काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्ता, विशेषगरी जेनजीहरूलाई राजनीतिक दल गठन गरी निर्वाचनमार्फत जनताबाट अनुमोदित हुन आग्रह गरेकी छिन्।
आइतबार बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भएको छलफलमा बोल्दै उनले राजनीतिक स्थायित्वका लागि निर्वाचित सरकार अपरिहार्य रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ। निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन्। त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्तिहरू पनि दल बनाएर चुनावमा आउँदै छन्। जेनजीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी हुन र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराउन सुझाव दिएकी छु।”
उनले केही जेनजीहरू बरालिएको र केही उग्र हुँदै गएको टिप्पणी गर्दै संवेदनशील समयमा अन्तरिम सरकारको सीमाबारे बुझ्नुपर्ने आवश्यकता औंल्याइन्।
कार्कीले भनिन्, “कतिपय यहाँ आएर चर्का कुरा गर्छन्, बाहिर गएर मनोमानी बोल्छन्। जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन् — सिक्दै छन्।”
प्रधानमन्त्रीले केही युवाहरू अत्यन्त परिपक्व र गहिरो विचार राख्ने बताउँदै, “कतिपय त हामीभन्दा धेरै कुरा बुझ्छन्,” भनेर उनीहरूको चेतनाको प्रशंसा पनि गरिन्।
उनले संविधानले तोकेको सीमाभित्र रहेर नै सरकार सञ्चालन गरिने उल्लेख गर्दै भनिन्, “हाम्रो नियत खराब छैन, कसैले आशंका पाल्नुपर्ने कारण छैन। संविधानले बनाएका संरचनाको सम्मान गर्नु नै हाम्रो कर्तव्य हो।”