कर छली प्रकरणमा कर अधिकृतसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौँ, २० कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आले, स्वामिनारायण निर्माण सेवा प्रा.लि. धरान र कम्पनीका प्रबन्ध निर्देशक सन्तोष कुमार बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार ती तीन जनाले मिलेमतो गरी कर छली र झूटा कागजात बनाएर गैरकानूनी लाभ लिन खोजेको प्रमाण फेला परेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीका लागि बुधबार आरोपपत्र दायर गरिएको हो।
सुन्दरहरैंचा नगरपालिका, मोरङसँग आर्थिक वर्ष २०७६/७७ मा गछिया खोलाबाट नदीजन्य पदार्थ उत्खनन् कार्यका लागि ९ करोड ५१ लाख रुपैयाँको ठेक्का पाएको स्वामिनारायण निर्माण सेवाले दाखिला गर्नुपर्ने १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) बुझाएको थिएन।
तर, आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत आले र कम्पनीका सञ्चालक बस्नेतले मिलेमतो गरी भ्याट बुझाइसकेको भनी झूटा पत्राचार गरेर राजस्व चुहावट गरेको अख्तियारको ठहर छ।
अख्तियारले उनीहरूविरुद्ध गैरकानूनी लाभका लागि बदनियतपूर्वक झूट्टा लिखत बनाएको र भ्रष्टाचारजन्य कार्य गरेको आरोपमा कानुनी सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।