प्रहरी निरीक्षक अनु लामालाई गृह मन्त्रालयले माग्यो स्पष्टीकरण
बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामालाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ। लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन लामालाई निर्देशन दिएको हो।
उनी गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन्। त्यतिबेला दस दिनको बिदा लिएर बसेकी उनले त्यसपछि पुनः १० दिन थप बिदा स्वीकृति गराएकी थिइन्।
२० दिनको बिदा सकेपछि गएको साउन १६ गते नै उनी कार्यालयमा हाजिर हुनुपर्ने थियो। तर, त्यसयता पनि कसैलाई जानकारी नगराई उनी गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
मन्त्रालयले आज सूचना प्रकाशित गर्दै ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन नआएमा भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने चेतावनी समेत दिएको छ ।
