प्रचण्ड : एकता प्रक्रिया ठिकै दिशामा, जनार्दन पनि सहमत हुने विश्वास
१५ कात्तिक, काठमाडौं — नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) सँगको एकता प्रक्रिया ठिक ढंगले अघि बढिरहेको बताएका छन्।
शनिबार पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नेता जनार्दन शर्मासमेत केन्द्रीय समितिको बैठकसम्म सहमत हुने विश्वास व्यक्त गरे।
उनले भने, “केही जाँदैन, सबै एकजुट छन् हाम्रो पार्टी। केन्द्रीय समितिको बैठकसम्म जनार्दन पनि एक हुनपर्छ, हुन्छन् भन्ने विश्वास छ।”
बैठकमा नेता शर्माले एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि रोक्न माग गर्दै बैठकबाट बाहिरिएका थिए।
प्रचण्डले भने, “आज बैठक राम्रोसँग सुरु भएको थियो। उहाँले कुरा राख्नुभयो, तर अरूका कुरा नसुनी उठेर जानुभयो — त्यो शैली राम्रो होइन, छलफलकै लागि बैठक हो।”
जनार्दन शर्माले महाधिवेशन टार्न खोजिएको आरोप लगाएको प्रसङ्गमा प्रचण्डले त्यसलाई अस्वीकार गर्दै भने, “त्यो गलत आरोप हो, अराजक आरोप हो।”
उनका अनुसार माओवादी केन्द्रभित्रको मतभेद सामान्य आन्तरिक छलफलको हिस्सा हो र पार्टी एकता प्रक्रियामा कुनै अवरोध नआउनेछ।