लाइसेन्स जानकारी अब फेसबुकमार्फत उपलब्ध
काठमाडौँ – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सूचना अब फेसबुकमार्फत सहज रूपमा प्राप्त गर्न सकिने भएको छ।
यातायात व्यवस्था विभागले अनलाइन स्वचालित सूचना प्रणालीमा प्राविधिक समस्या देखिएपछि आफ्नो आधिकारिक फेसबुक पेज हेलो यातायात व्यवस्था विभाग’ मार्फत छपाइ सकिएका लाइसेन्सका नाम नियमित रूपमा प्रकाशित गर्ने निर्णय गरेको हो।
पहिले आवेदकले फारम भरेपछि ७२ घण्टाभित्र नोटिफिकेसन प्राप्त गर्थे, तर प्रणाली अवरुद्ध भएपछि विभागले नयाँ व्यवस्थाको रूपमा फेसबुक मार्फत सूचना दिने व्यवस्था मिलाएको छ।
फेसबुकमा नाम समावेश भएका आवेदकले सक्कल राजस्व तिरेको रसिद लिएर विभागमा गएर आफ्नो लाइसेन्स लिन सक्नेछन्। साथै, लाइसेन्स नवीकरण वा नयाँ वर्ग थप गर्न चाहने सेवा-ग्राहीले आफ्नो पुरानो लाइसेन्स अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने विभागले जनाएको छ।