क्याम्यान रोजगारी ठगी: २० लाख बुझाएका लमजुङका युवा फर्किए
लमजुङका युवाहरूलाई क्याम्यान क्षेत्र (Cayman Island) मा रोजगारीको प्रलोभन देखाई ठगी भएको घटना सार्वजनिक भएको छ। पीडित युवाहरूबाट प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म असुली गरी उनीहरूलाई 'डोमी भिसा' (Dummy Visa) वा वर्क परमिटको बहानामा पठाइएको थियो। तर, (Cayman Island) पुगेपछि काम लगाउन नसकिएपछि उनीहरू बाध्यतावश स्वदेश फर्किनुपरेको छ। उजुरीमा उल्लेख भएअनुसार, ठगहरूले हरेक व्यक्तिबाट बढीभन्दा बढी रकम गैरकानुनी रूपमा लियका थिए। पीडितहरूले लमजुङ जिल्ला प्रशासन कार्यालय अन्तर्गतको वैदेशिक परामर्श केन्द्रमा ठगीको उजुरी दर्ता गराएका छन् ।
ठगिमा पर्ने बेशिशहर–९ का राजन रावतका अनुसार, उनीहरूलाई काम दिने भन्दै क्याम्यान क्षेत्र पुर्याइए पनि त्यहाँ चार महिनासम्म कुनै काम नपाएर बस्नुपर्यो। रावत भन्छन्, "काम नपाएपछि हामीले बाध्य भएर त्यहाँको इमिग्रेशनमा उजुरी दियौं, त्यसपछि (Cayman Island) सरकारले हवाई टिकट उपलब्ध गराएर हामीलाई नेपाल फर्कायो। " ठगीमा पर्ने अन्य युवाहरूमा बेशिशहर-८ का दिपक श्रेष्ठ र अमृत दिक्षीत पनि छन्। रावतका अनुसार, उनीहरू मात्र नभई धेरै नेपालीहरूले त्यहाँ दु:ख पाइरहेका थिए र काम मिलाउने भन्दै लैजाने र काम नपाइने अबस्था रह्यो । चार महिनासम्म पनि काम नपायपछि जेठ महिनामा नेपाल फर्कियको र असार १ गते वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गराएका बताए । अदालतले भदौ ४ गते अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
बिदेश लगेर अलपत्र पार्ने बेशिशहर–२ का विकास थापामाथि ठगीको आरोप लागेको छ। पीडित राजन रावतका अनुसार, थापाले पटक-पटक रकम फिर्ता गर्न भनिए पनि पैसा नफर्काएपछि उनीहरू कानुनी बाटो लिन बाध्य भएका हुन्।
नेपालमा पक्राउ पुर्जी जारी भए पनि मुख्य अभियुक्त थापा हाल पनि क्याम्यान आइसल्याण्डमै रहेको जानकारी प्राप्त भएको छ। पीडित युवाहरूले सम्बन्धित निकायलाई ठगहरूलाई कडा कारबाही गर्न र आफूहरूबाट असुल गरिएको सम्पूर्ण रकम फिर्ता गराउन माग गरेका छन्।अभियुक्त विदेशमै रहेकाले अब प्रहरीले उनलाई नेपाल झिकाउन अन्तर्राष्ट्रिय कानूनी संयन्त्रको सहयोग लिनुपर्ने अवस्था सिर्जना भएको छ।