श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण, सबै यात्रु सकुशल
१५ कात्तिक, बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
धनगढीबाट बिहान १० बजे उडेको फलाइट नम्बर २२२ ले उडानका क्रममा हाइड्रोलिक फेलियरको समस्या देखिएपछि सुरक्षित रूपमा भैरहवामा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।
हाइड्रोलिक समस्या आएपछि विमान रनवेबाट गुड्न नसकेकाले करिब ४० मिनेटसम्म विमानस्थलका अन्य उडानहरू रोकिएका थिए। अवतरणका बेला विमानको अगाडिको ल्यान्डिङ गियर नखुलेको कारण धानवमार्गमा रोकिएको भए पनि पछि साढे १२ बजे गियर खुलेपछि विमानलाई टर्मिनल पार्किङमा सारिएको हो।
विमानमा रहेका चालक दलका सदस्यसहित ८२ जना यात्रु सकुशल रहेका छन्। यात्रुहरूलाई लिन काठमाडौंबाट अर्को विमान पठाइएको श्री एअरलाइन्सले जनाएको छ। हाल विमानस्थल पुनः सञ्चालनमा आइसकेको छ।