रिलायन्स स्पिनिङ मिल्सले विवादित महसुलबापत २ करोड ७५ लाख धरौटी बुझायो
२० कात्तिक, काठमाडौं । सरकार र नेपाल उद्योग वाणिज्य महासंघले सुझाएको मध्यमार्ग स्वीकार्दै रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई विवादित डेडिकेटेड ट्रंकलाइन महसुलबापत २ करोड ७५ लाख रुपैयाँ धरौटी बुझाएको छ।
कम्पनीले विद्युत् आपूर्ति रोकिएपछि उद्योग सञ्चालनमा समस्या र हजारौं श्रमिक रोजगारी गुम्ने जोखिमका कारण धरौटी बुझाएको जनाएको छ। कम्पनीका ज्योति गैरेका अनुसार सरकारले सुझाएको मध्यमार्ग अनुसार तत्कालको लागि रकम बुझाइएको हो।
यसअघि प्राधिकरणले बक्यौता नबुझाउने उद्योगहरूको लाइन काट्न थालेपछि विवाद चर्किएको थियो। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको बैठकले विवाद समाधानका लागि रकमलाई धरौटीका रूपमा बुझाउने सहमति गरेको थियो।