कास्की कारागारबाट भागेका १५७ जना पक्राउ
कास्की कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका मध्ये १ सय ५७ जना कैदी बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबैभन्दा धेरै कास्की प्रहरीले समातेको छ । कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार कास्कीले मात्रै ८३ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सबैभन्दा धेरै चोरी मुद्दाका २५ जना छन् । यस्तै, जबरजस्ती करणी र लागू औषध मुद्दाका १७/१७ जना पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दाका ९ जना, कर्तव्य ज्यान मुद्दाका ८ जना, अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अङ्गभङ्ग, कुटपिट र मानव बेचबिखनका १/१ जना पक्राउ परेका बस्नेतले बताए ।
भदौ २४ गते उनीहरू भागेका थिए । तीमध्ये एक जना पोखरा २६ मा आत्महत्या गरेका छन् । कास्की प्रहरीले छिमेकका जिल्लाबाट पनि सहयोग लिएर कैदी बन्दी पक्राउ गरेको छ । तनहुँ प्रहरीले २६ जना, गोरखाबाट ६ जना, स्याङ्जाबाट ३ जना, लमजुङबाट २ जना र म्याग्दीबाट १ जना पक्राउ गरेर कास्की पठाइएको छ ।
विभिन्न जिल्लाको कारागार कार्यालयमा ३६ हाजिर भएका छन् । उनीहरू उतै बसिरहेका कास्की कारागार कार्यालयका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । आन्दोलनका क्रममा ७ सय ७३ फरार भएका थिए । अझै २ सय २२ जना फरार रहेको उनको भनाई छ ।