मोन्था’ चक्रवात शक्तिशाली हुँदै, नेपालमा समेत प्रभाव पर्ने पूर्वानुमान
११ कात्तिक, काठमाडौं । बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मङ्गलबार) अधिक शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत हुने भारतीय मौसम विभागले जनाएको छ ।
विभागका अनुसार चक्रवात ‘मोन्था’ आज बेलुका वा राति आन्ध्र प्रदेशको तटीय क्षेत्र — काकिनाडा, मछलीपट्टनम र कलिंगपट्टनम बीचको तट पार गर्न सक्नेछ । यस क्रममा हावाको गति प्रति घण्टा ९० देखि १०० किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ ।
चक्रवातका कारण आन्ध्र प्रदेश र तमिलनाडुका केही भागमा भारी वर्षाको सम्भावना रहेको भारतीय मौसम विभागले जनाएको छ । साथै आन्ध्र प्रदेश, ओडिशा र आसपासका तटीय भूभागहरूका लागि चक्रवात सम्बन्धी चेतावनी जारी गरिएको छ ।
विभागले यसअघि दिएको सूचनामा महाराष्ट्रको विदर्भ क्षेत्रमा पनि २८ देखि ३० अक्टोबरसम्म ‘मोन्था’ को प्रभावमा मध्यमदेखि भारी वर्षा हुने बताइएको थियो ।
मौसमविद्हरूका अनुसार यो चक्रवात भारत पार गरेपछि नेपालमा समेत यसको असर देखिनेछ । बंगालको खाडीमा विकसित प्रणाली केही दिनभित्रै पूर्वी नेपालतर्फ सर्ने अनुमान गरिएको छ ।
नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि ‘मोन्था’ को अप्रत्यक्ष प्रभाव पूर्वी नेपालमा सक्रिय हुने सम्भावना छ । यसको असर कोशी प्रदेश हुँदै मधेश र मध्य नेपालसम्म पर्ने पूर्वानुमान गरिएको छ ।
विभागले विशेषगरी पहाडी र तराई क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।