रुकुममा बेपत्ता भएकी गंगा सार्की जंगलमा मृत फेला
६ कात्तिक, काठमाडौं । रुकुमपूर्वको मुसिकोट नगरपालिका–१३, डाँडाछिवाङकी २५ वर्षीया गंगा सार्की मृत अवस्थामा फेला परेकी छन्। असोज २० गतेदेखि बेपत्ता रहेकी उनी बिहीबार बिहान गाउँनजिकैको जंगलमा झुन्डिएको अवस्थामा भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुन का अनुसार बिहान जंगल गएका स्थानीयले दुर्गन्ध आएपछि खोजी गर्दा रूखमा झुन्डिएको शव फेला पारेका थिए।
‘शव सडेको अवस्थामा फेला परेको छ,’ पुनले बताए, ‘बेपत्ता भएको दिनकै राति वा भोलिपल्ट नै घटना भएको देखिन्छ।’
प्रहरीले शवको मुचुल्का उठाइसकेको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जनाएको छ।
गंगा असोज २० गते साँझ करिब ५ बजे घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् र त्यसपछि सम्पर्कविहीन भएकी थिइन्। पारिवारिक स्रोतका अनुसार भारतमा रहेका उनका श्रीमानसँग अन्तिम पटक फोनमा सामान्य विवाद भएको थियो।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।