तिहारले सामाजिक विविधतालाई एकतामा बाँध्छ : अध्यक्ष माधवकुमार नेपाल
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा रहेका सबै जाति, भाषा र संस्कृतिका चाडपर्वहरूले सामाजिक विविधतालाई एकताबद्ध गर्ने भूमिका खेल्ने बताएका छन्।
तिहार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालीको मौलिक संस्कृति र परम्पराको संरक्षणले राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
अध्यक्ष नेपालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै भने, “तिहारले आपसी सम्मान, सहअस्तित्व र भाईचारा बलियो बनाउने अनुपम सन्देश दिएको छ।”
उनका अनुसार, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण नेपाली समाजमा सबै समुदायका चाडपर्व र संस्कृतिहरूले सहकार्य र सद्भाव बढाउने काम गर्छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सबै समुदायबीच आपसी सहयोग, सद्भाव र भ्रातृत्व कायम गर्दै सामाजिक न्याय, समानता र सुशासनयुक्त राज्य निर्माणमा लाग्न सबैमा आह्वान गरे।
उनले भने, “तिहारजस्ता पर्वले खराब प्रवृत्तिको अन्त्य गर्दै सबैको अस्तित्वलाई ग्रहण गर्ने सकारात्मक चेतना फैलाउनेछन्, जसले देश विकासको यात्रालाई अझ गतिशील बनाउँछ।”