कोइराला पक्षले नियमित महाधिवेशनको कार्यतालिका बनाए, महामन्त्रीद्वयले सभापतिलाई बुझाए
काठमाडौँ –नेपाली कांग्रेसमा डा. शेखर कोइराला पक्षले नियमित महाधिवेशनको कार्यतालिका तयार पारेको छ। शुक्रबार बिहान सम्पर्क कार्यालय विशालनगरमा भेलापछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर तालिका प्रस्तुत गरेका हुन्।
उक्त कार्यतालिका सर्वसम्मत पारित गर्न शुक्रबार बस्ने केन्द्रीय बैठकमा प्रस्तुत हुने भनिएको छ। कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार तालिका धेरै केन्द्रीय सदस्य र पदाधिकारीहरूसँगको छलफलबाट बनाइएको हो।
डा. कोइरालाले आफूनिकट पदाधिकारीसँग छलफल गरी महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी गरिरहेका छन्।