नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सञ्चालन अनुमति
नवलपुर, १२ कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सञ्चालनको अनुमति प्राप्त भएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि निकुञ्जले नवलपुर पर्यटन समितिलाई ‘जङ्गल ड्राइभ’ सञ्चालन गर्न स्वीकृति दिएको हो।
समितिका अध्यक्ष फन्सराम महतोका अनुसार आधा दिन र पूरै दिनको भ्रमण मार्ग तोकिएको छ। आधा दिनको सफारी अमलटारीघाट–टेम्पलटाइगर–मुन्डा ताल–देवीताल हुँदै फर्कने मार्गमा हुनेछ भने पूरै दिनको भ्रमण घडियाल प्रजनन केन्द्रसम्म सञ्चालन हुनेछ।
सातवटा सवारी साधनलाई अनुमति दिइएको छ र प्रत्येकमा ‘भेइकल ट्र्याकिङ एन्ड मोनिटरिङ सिस्टम’ (जिपिएस) जडान अनिवार्य गरिएको छ। पर्यटकले अमलटारीस्थित नारायणी नदीमा डुङ्गाबाट पार गरेर सफारीको अनुभव लिन सक्नेछन्।
पर्यटन व्यवसायीहरूले यसले नवलपुरको पर्यटन प्रवर्द्धन मात्र नभई रोजगारी र आर्थिक गतिविधि पनि बढाउने विश्वास व्यक्त गरेका छन्।