सुनकोशीमा कार पल्टिँदा एकको मृत्यु, दुई घाइते
काभ्रेपलाञ्चोक, ११ कात्तिक। बीपी राजमार्गको सिन्धुली सुनकोशी गाउँपालिका–६ चैनपुरमा विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको घटनास्थलमै मृत्यु भएको छ। कारमा उनका ४९ वर्षीया पत्नी सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त सवार थिए, जो दुवै घाइते भएका छन्। सुनिताको अवस्था गम्भिर र निशान्तको मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूलाई खाल्टे स्थित आत्मिय सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।