वीरगन्जबाट अवैध गाँजासहित ७० वर्षीय भारतीय नागरिक पक्राउ
वीरगन्ज, असोज ३०— अवैध रूपमा गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा ७० वर्षीय भारतीय नागरिक वीरगन्जबाट पक्राउ परेका छन्।
बुधबार राति साढे १० बजे, वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय पछाडि मन्दिर क्षेत्रबाट भारत रक्सौलतर्फ पैदल जाँदै गरेका भारत बिहार राज्यको पटनाका ब्रम्ह सहनीलाई सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरी टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो।
सशस्त्र प्रहरीका अनुसार सहनीले प्लास्टिक र टेपले बेरेर लुकाई छिपाई ल्याएको ६ किलो गाँजा बोकेको फेला परेको थियो।
सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता डीएसपी सुरज कार्की का अनुसार उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वडा प्रहरी कार्यालय बिर्ता मा बुझाइएको छ।