चिकित्सक सङ्घले स्वास्थ्य सुधारका लागि मन्त्री गौतमलाई दिए सुझाव
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि महत्वपूर्ण सुझाव दिएको छ। सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्की तथा अन्य पदाधिकारीहरूले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामना दिने क्रममा स्वास्थ्य प्रणालीका चुनौती र सुधारका उपायबारे चर्चा गरेका हुन्।
सङ्घले प्राथमिक स्वास्थ्य संरचना मजबुत बनाउने, राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी गर्ने, तथा संघीय, प्रादेशिक र स्थानीय तहबीच निगरानी र जवाफदेहिता स्पष्ट पार्ने सुझाव प्रस्तुत गरेको छ। त्यसैगरी, चिकित्सक, स्वास्थ्यकर्मी र जनतालाई समेटेर स्वास्थ्य सेवा प्रणालीका प्रमुख समस्या समाधान गर्न पहल गर्नुपर्ने सन्देश दिएको छ।
भेटपछि जारी विज्ञप्तिमा सङ्घले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा पर्याप्त चिकित्सक, औषधि, परीक्षण सुविधा र व्यावसायिक क्षमताको अभाव रहेको उल्लेख गर्दै मानवस्रोत र समायोजनसम्बन्धी समस्या रहेको जानकारी गराएको छ। सङ्घले सबै तहका चिकित्सक र स्वास्थ्यकर्मीलाई समान कामका लागि समान पारिश्रमिक नीति लागू गर्न, महिला स्वास्थ्य स्वयंसेविकाको सञ्जाल, स्थानीय सरकार र कानुनी प्रावधानहरूमा सुधार आवश्यक रहेको पनि जनाएको छ।
सङ्घले स्पष्ट जिम्मेवारी, पूर्वाधार, मानवस्रोत, वित्तीय प्रवाह र गुणस्तर सुनिश्चित गर्न समन्वय आवश्यक भएको बताउँदै स्वास्थ्य सेवा सुधारका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ।