झाँक्री प्रकाश भुजेलको धम्कीपछि व्यवसायी पक्षद्वारा कार्यालय तोडफोड
काठमाडौं —भाइरल झाँक्री प्रकाश भुजेलले एक म्यानपावर व्यवसायीलाई धम्की दिएपछि आक्रोशित व्यवसायी पक्षले उनकाे कार्यालयमा तोडफोड गरेका छन्। घटना शुक्रबार साँझ काठमाडौंको नारायणटारमा रहेको झाँक्री तथा तान्त्रिक संघको कार्यालयमा भएको हो।
प्रहरी वृत्त, गोकर्णका अनुसार झाँक्री संघका अध्यक्ष समेत रहेका प्रकाश भुजेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर एक म्यानपावर व्यवसायीलाई धम्की दिएका थिए। त्यसको प्रतिक्रियामा व्यवसायी पक्षीय समूह नारायणटारस्थित कार्यालयमा पुगेको थियो।
कार्यालयमा घेराउ भएपछि भुजेल भागेर काँडाघारीतर्फ गएको र त्यसपछि आक्रोशित समूहले कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ।
व्यवसायी समूहले भुजेल काँडाघारीमा लुकेको भन्दै स्थानीय प्रहरी प्रभागलाई समेत घेरा हालेर उनलाई तत्काल सार्वजनिक गरिनुपर्ने माग राखेको छ।
यस विषयमा सत्यतथ्य बुझ्ने प्रयास जारी रहेको र दुबै पक्षबीच मध्यस्थता गराउन पहल भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।