मुस्ताङमा बाढी र वर्षाका कारण जनावरको मृत्यु, सिँचाइ प्रणाली र सडक प्रभावित
मुस्ताङ, १४ कात्तिक – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा वर्षासँगै आएको बाढीले १२ च्याङ्ग्रा मारेको छ। घटनामा चार खसी र आठ च्याङ्ग्राको मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिए।
बाढीले तेताङ गाउँको सिँचाइ कुलो करिब १५ मिटरभन्दा बढी बगाएको छ भने खेतका पर्खाल र खानेपानी सेवा अवरुद्ध भएका छन्। इलाका प्रहरी कार्यालय छुसाङको टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरिरहेको छ।
यसैगरी, जोमसोमस्थित जिल्ला ट्राफिक कार्यालय भवनमा वर्षासँगै खसेको ढुंगाले आंशिक क्षति पुगेको छ। मनसुन सक्रिय भएकोले मुस्ताङका धेरै स्थानका सडक अवरुद्ध छन्। उपल्लो मुस्ताङका विभिन्न स्थानमा बिहीबार राति हिमपात भएको र मुक्तिनाथ क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ।
वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले यस्ता परिस्थितिमा केही दिन मुस्ताङ यात्रा नगर्न चेतावनी दिएका छन्।