बागमती प्रदेशमा मन्त्रालय आधा घटाउने तयारी, १४ बाट ७ मा सीमित गर्ने योजना
काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ। खर्च कटौती र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले सरकारले हाल रहेका १४ मन्त्रालयलाई घटाएर ७ मा सीमित गर्ने योजना बनाएको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले केही दिनअघि प्रदेश सरकारलाई मन्त्रालयको सङ्ख्या घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो। त्यसपछि सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलको संयुक्त बैठकमा मन्त्रालय संख्या घटाउने विषयमा सहमति बनेको हो।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार मन्त्रालय पुनर्गठनको गृहकार्य सुरु गरिएको छ। “मन्त्रालय कति घटाउने, कुनकुन राख्ने, कुन समायोजन गर्ने र कर्मचारी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समिति अध्ययनरत छ,” उनले बताए।
मुख्यमन्त्री बानियाँले खर्च कटौती र सुशासनलाई प्रमुख प्राथमिकता बनाउँदै दलहरूसँग छलफल गरेर साझा धारणा निर्माण गरी मन्त्रालय पुनर्गठनलाई तार्किक निष्कर्षमा पुर्याइने बताए।