माधव नेपालले झलनाथ खनाललाई लक्षित गर्दै भने: विद्रोहको औचित्य पुष्टि भएको छ
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी खोलेर सही कदम उठाएको जिकिर गर्दै विद्रोहको औचित्य नदेख्ने नेताहरूलाई प्रतिक्रिया दिएका छन्।
केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै नेपालले भने, “एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन। हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ। विद्रोह गरेर नयाँ दल खोल्नुको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन। त्यो हामीलाई मन्जुर भएन।”
उनले पार्टीमा चुनौतीहरू आइरहने उल्लेख गर्दै औचित्यको पुष्टि गरियो कि गरिएन भन्ने कुरा प्रत्येक घटनाक्रमले स्पष्ट देखाएको पनि बताए।
यसअघि बैठकमा सम्मानित नेता झलनाथ खनालले चार वर्षसम्म नेतृत्वले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको उल्लेख गरेका थिए। नेपालले सो अभिव्यक्तिलाई लक्षित गर्दै आफ्नो दलले लिएको बाटो सही रहेको र औचित्य पुष्टि भएको बताए।