त्रिपक्षीय छलफल आज बालुवाटारमा, राजनीतिक दल र जेनजी समूह सहभागी
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बालुवाटारमा त्रिपक्षीय छलफल हुने भएको छ। यसमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधि सहभागी हुने जनाइएको छ।
अपराह्न ४ः०० बजे सुरु हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका पदाधिकारी तथा दोस्रो तहका नेताहरू सहभागी हुनेछन्।
कार्यसूचीअनुसार छलफलमा आगामी फागुन २१ का लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण र राजनीतिक समझदारी जुटाउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राजनीतिक दलका प्रतिनिधिमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले)बाट केन्द्रीय सदस्य महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुनेछन्।
यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच पनि वार्ता सम्पन्न भइसकेको छ।