कांग्रेसका महामन्त्री थापा र शर्मा द्वारा मतदाता सूचीकरणमा सक्रिय हुन निर्देशन
७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ मतदाता नामावली दर्ता अभियानमा सक्रिय हुन पार्टीका सबै तहका संरचनालाई परिपत्र गरेका छन्।
निर्वाचन आयोगले ३० कात्तिकसम्म नयाँ मतदाता दर्ता गर्ने समयसीमा तोकेको छ। त्यसअनुसार छठ पर्व सकिएलगत्तै अभियानलाई तीव्रता दिन कांग्रेसले तयारी थालेको हो।
दुई महामन्त्रीले प्रदेशदेखि वडा तहसम्मका संगठनहरूलाई मतदाता सूचीकरणलाई प्राथमिकतामा राख्न, छठपछि बैठक गरेर कार्ययोजना बनाउन र जिल्ला समितिले सबै क्षेत्रमा टिम परिचालन गर्न निर्देशन दिएका छन्।
परिपत्रमा युवा मतदातालाई विशेष लक्ष्य बनाइएको छ। उनीहरूले उमेर पुगेका युवाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न प्रेरित गर्न आग्रह गरेका छन्। त्यसका लागि पार्टी संरचनाभित्र ‘मतदाता दर्ता समूह’ गठन गरी युवा सदस्यहरूलाई जिम्मेवारीसहित परिचालन गर्ने सुझाव दिइएको छ।
महामन्त्रीद्वयले पार्टीका सबै तहले समन्वयपूर्वक काम गरेर आगामी निर्वाचनका लागि मतदाता सूचीकृत अभियानलाई सफल बनाउन जोड दिएका छन्।