पूर्वी र तराई क्षेत्रमा बिहीबारदेखि वर्षा–हिमपातको चेतावनी
काठमाडौँ, ११ कात्तिक — अरबसागरमा विकसित मौसमी प्रणालीले गएरातिदेखि भइरहेको वर्षा र हिमपात बुधबारसम्म रोकिने मौसमविद् उज्जवल उपाध्यायले बताएका छन्। तर बिहीबार साँझदेखि बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले बागमती, मधेश र कोशी प्रदेशका जिल्लामा पुनः वर्षा र हिमपात हुने अनुमान गरिएको छ।
उपाध्यायका अनुसार मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुमपूर्व लगायत हिमाली जिल्लामा अहिले भारी हिमपात भइरहेको छ। काठमाडौं उपत्यकामा धुम्म र बादल लाग्नेछ, बुधबार मौसम सामान्य सुधार हुनेछ।
मोन्था चक्रवात बिहीबार साँझ पर्सा, बारा, रौतहट, सर्लाही हुँदै नेपाल प्रवेश गर्ने अनुमान छ। यसको प्रभाव पूर्वी र तराई क्षेत्रका केही पहाडी तथा हिमाली भूभागमा भारी वर्षा र हिमपात ल्याउने अपेक्षा गरिएको छ।
मौसमविद् उपाध्यायले इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्लामा उच्च जोखिम रहेको र केही स्थानमा २०० मिलिमिटर वर्षा हुन सक्ने चेतावनी दिएका छन्। साथै पहिरो गइरहने राजमार्ग र पदयात्रामा सतर्कता अपनाउन सुझाव दिइएको छ।