म्याग्दी र मुस्ताङमा वर्षासहित हिमपात, पर्यटक पदयात्रा स्थगित गर्दै होटलमै रोकिए
हल्का वर्षा र हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रहरूमा पुगेका देशी–विदेशी पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी भागमा वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि सडक तथा पदमार्गमा हिउँ जमेर आवतजावत ठप्प भएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार हिमपातका कारण पर्यटक बास बसेकै स्थानमा रोकिएका छन् । “सडक र पदमार्गमा हिउँ जमेकाले यातायात सञ्चालन र पदयात्रा दुबै सम्भव छैन,” उनले भने, “जोखिम हुने भएकाले पर्यटकहरूलाई बाहिर ननिस्कन आग्रह गरेका छौँ ।”
मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण तथा म्याग्दी र मुस्ताङका प्रशासन कार्यालयहरूले आजदेखि वर्षा र हिमपात हुने पूर्वानुमान जारी गर्दै पदयात्रामा नजान सार्वजनिक सूचना दिएका थिए । सो कारण अहिले क्षेत्रका भ्रमणकर्ताको सङ्ख्या पनि घटेको जनाइएको छ ।
मुक्तिनाथ, लोमान्थाङ, चराङलगायत माथिल्लो मुस्ताङका क्षेत्रमा हल्का वर्षासँगै हिमपात भएको छ भने म्याग्दीका अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड ताल, घोडेपानी, खोप्रालेक, मोहरेडाँडा र कोखेडाँडामा पनि पर्यटक प्रभावित भएका छन् ।
अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दु हुमखोलाका होटल व्यवसायी तेज गुरुङका अनुसार आज बिहानदेखि पदमार्गमा आवतजावत ठप्प भएको छ । “अघिपछि दैनिक पाँच सय जना पर्यटक आउँथे, सोमबार दुई सय जति मात्र आएका थिए,” उनले भने, “वर्षा र हिमपातका कारण आज पदयात्रा स्थगित गरेका छन् ।”
अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनका अनुसार गएराति १२ बजेसम्म यातायात व्यवस्थापन गरेर आधार शिविरमा पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीतर्फ झारिएको छ ।
घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले पनि खराब मौसमका कारण पर्यटकले यात्रा स्थगित गरेको बताए । “पुनहिलको दृश्यावलोकनका लागि आएका पर्यटक बिहानैदेखि ब्रेकफास्टपछि कोठामै बसिरहेका छन्,” उनले भने, “चिसो र हिउँका कारण स्वास्थ्य समस्या र दुर्घटनाको जोखिम भएकाले पदयात्रा स्थगित गर्न अनुरोध गरेका छौँ ।”
स्थानीय प्रशासनले मौसम सामान्य नहुँदासम्म अनावश्यक यात्रा नगर्न र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।