थापाथली सुकुम्बासी बस्तीमा प्रहरीको छापा, हतियार बरामद
काठमाडौँ — काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा प्रहरीले शनिबार दिउँसो छापा मारी एक जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका–११ अन्तर्गत पर्ने उक्त क्षेत्रमा दिउँसो करिब २ बजे प्रहरीले एक घरमा खानतलासी गरेको हो। काठमाडौं प्रहरी परिसरका अनुसार बरूण पोखरेल नामक व्यक्तिको घरमा शंका लागेर खानतलासी गरिएको थियो।
खानतलासीको क्रममा प्रहरीले घरभित्र लुकाएर राखिएको एउटा पेस्तोल, फलामको दाव र एउटा तरबार फेला पारेको छ।
हतियार बरामद भएसँगै पोखरेलले प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनलाई पनि नियन्त्रणमा लिइएको परिसरले जनाएको छ।
हाल उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।