जेनजी आन्दोलनमा संलग्न ४ जना पुर्पक्षका लागि जेल चलान, ८२ जना हाजिर जमानीमा छुटे
काठमाडौं —गत भदौ २३ र २४ मा काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा विभिन्न उपद्रव र आपराधिक गतिविधिमा संलग्न अभियुक्तहरूमध्ये ४ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ भने ८२ जना हाजिर जमानीमा छुटेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रहरी हत्या अभियोगमा सम्लग्न दुई जना नेपाली र सार्वजनिक सम्पत्ति क्षति पुर्याएको अभियोगमा दुई जना भारतीय नागरिकलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
प्रहरी हत्या अभियोगमा काभ्रे निवासी युवराज क्याप्छाकी र मकवानपुरका बुद्धिमान थिङ (सेनाम तामाङ) लाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरिएको छ।
दुवैले २४ भदौमा महाराजगञ्जमा प्रहरी जवान उत्तम थापामाथि भएको आक्रमण र हत्या घटनामा संलग्न रहेको बयान दिएका छन्। प्रहरीका अनुसार उनीहरूले थापालाई लखेटेर भाटभटेनीको पर्खालमा पुर्याई कुटपिट गरेका थिए। अचेत भएपछि मुख्य सडकमा घिसारेर थप आक्रमण गर्दा उनको मृत्यु भएको बयान दिएका छन्।
प्रहरीले उनीहरूमाथि मुलुकी फौजदारी अपराध संहिता दफा १७७ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा जन्मकैदको मागदाबी गरेको छ।
त्यस्तै, जनसेवा (न्यूरोड) क्षेत्रका भवनमा आगजनी तथा तोडफोडमा संलग्न दुई भारतीय नागरिक—निरज पोदार र रोहित सरावगीलाई पनि बिहीबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, आन्दोलनमा संलग्न ८२ जनालाई हाजिर जमानीमा छुटाइएको छ। उनीहरूलाई अनुसन्धानपश्चात बयान प्रमाणित गरेर आफन्तको जिम्मामा छोडिएको छ। अदालतको आदेश वा आवश्यक परेको खण्डमा पुनः पेस गरिने प्रहरीले जनाएको छ।
छुटाइएका ८२ मध्ये धेरैले घटनामा संलग्नता स्वीकार गरेका छन् भने केहीले "अञ्जानबस गएका" भनी बयान दिएका छन्। तीमध्ये केहीले सरकारी तथा निजी भवनमा आगो लगाउने, तोडफोड र लुटपाटसमेत गरेका थिए।
जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा अहिले पनि १२ जना उपद्रवका अभियुक्तहरू छन्। तीमध्ये अछामका उमेश शाही, ‘टिओबी’ लेखिएको ज्याकेट लगाएर पेस्तोलसहित देखिएका बौद्धका तेञ्जिङ दावा लगायत गम्भीर आपराधिक अभियोगमा रहेका व्यक्तिहरू छन्।
प्रवक्ता भट्टराईका अनुसार यी १२ जनामाथि गम्भीर अनुसन्धान भइरहेको छ र कुनै दबाबका आधारमा छोडिने अवस्था छैन। “अदालतले जे आदेश दिन्छ, त्यही हुन्छ,” प्रहरी स्रोतले स्पष्ट पारेको छ।