गोरखाका २३ वर्षीय युवकको नयाँ बानेश्वरमा सवारी दुर्घटनामा मृत्यु
काठमाडौं, असोज ३० — काठमाडौंको नयाँ बानेश्वरमा गएराति भएको एक सवारी दुर्घटनामा परी गोरखा निवासी एक युवाको मृत्यु भएको छ।
यातायात व्यवस्था विभाग मीनभवनस्थित सडकखण्डमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक २३ वर्षीय बालकृष्ण परियारको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए।
दुर्घटना वाग्मती प्रदेशको नम्बर प्लेट (बीएबी ०३६५) भएको जिपले नयाँ बानेश्वरबाट ‘राइट टर्न’ गर्ने क्रममा तीनकुनेतर्फ जाँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको हो।
प्रहरीका अनुसार परियार गोरखा जिल्ला, सिरानचोक गाउँपालिका–४ का स्थायी बासिन्दा थिए।
सवारी दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।