गुल्मीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक नियन्त्रणमा
गुल्मी, कात्तिक ९ — गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिकाका १९ वर्षीय सहचालक मेघराज पुन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताएअनुसार रा१त ३५०२ नम्बरको ट्याक्टर मदाने–१ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आउँदै गर्दा दुर्घटना भएको हो।
उनका अनुसार ट्याक्टर उकालो चढ्ने क्रममा लोड तान्न नसकी ब्याक भई ब्रेकले काम नगरेपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ट्याक्टरबाट हामफाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भीर घाइते भएका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो।
यस घटनासँग सम्बन्धित ट्याक्टर चालक, मदाने–१ अग्लुङका २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।