रुपन्देहीमा बस–ट्रक ठोक्किँदा ११ जना घाइते
रुपन्देही, १४ कात्तिक – सिद्धार्थ राजमार्गअन्तर्गत ओमसतिया गाउँपालिका–१ ठुटीपिपलमा बस र ट्रक ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्।
शुक्रबार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९२६० नम्बरको माइक्रोबसले सर्भिस लेनबाट मुख्य सडकमा प्रवेश गर्ने क्रममा लु १ ख ४४७७ नम्बरको ट्रकसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
घाइतेमध्ये केहीलाई भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई नजिकका अस्पतालमा पठाइएको छ। प्रहरीले घाइतेमध्ये एकजनाको अवस्था मध्यम र बाँकी सामान्य रहेको जानकारी दिएको छ।
दुर्घटनापछि ट्रक र बसका चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको छ।