पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासमा सुनुवाइ तोकिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते यो मुद्दा दायर गरेको थियो। नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग गरेको छ। अभियोगअनुसार, तत्कालीन प्रधानमन्त्रीको हैसियतमा उनले सरकारी जग्गा व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गरेको आरोप छ।
नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गते पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको अनुमति दिएको थियो। अख्तियारको दाबीअनुसार, ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको थियो।