नेकपा को माग: सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन होस्
काठमाडौं, २ कात्तिक — नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपाले वर्तमान सरकारले सबै पक्षको भावना र जनजी आन्दोलनको मर्मलाई समेत समेट्न नसकेको भन्दै असन्तुष्टि जनाएको हो।
पार्टीले आसन्न निर्वाचनमा भाग लिने इच्छा भए पनि आवश्यक सुरक्षा वातावरण नहुँदा त्यो सम्भव नहुने जनाएको छ।
‘नेकपा चुनावमा सहभागी हुन चाहन्छ तर राजनीतिक सहमति र सुरक्षाको ग्यारेन्टीबिना चुनावको औचित्य हुँदैन’, नेकपाले जनाएको छ, ‘जबरजस्ती चुनाव गरियो भने त्यो कठपुतली नचाउने थलो मात्र हुनेछ।’
नेकपाले समावेशी र सहमतिपूर्ण प्रक्रियाबाट सर्वपक्षीय सरकार गठन गरी देशलाई निष्पक्ष राजनीतिक दिशातर्फ लैजानुपर्ने माग गरेको छ।